पेट्रोलियम पदार्थले साथ दिएन ओली सरकारलाई, मुल्य बढेकोबढ्यै
- Bhumiputra

- Jun 3, 2018
- 2 min read

काठमाडौं–केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि ३ महिनामा चार पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ ।
ओली सरकार आए लगत्तै भएको मूल्य समायोजनमा एक पटक भने पेट्रोलियम पदार्थको मूल्य घटेको थियो ।
फागुन ३ गते देशले ओलीलाई नयाँ प्रधानमन्त्रीको रुपमा पाउँदा पेट्रोलियम पदार्थको मूल्य १०४ रुपैयाँ थियो ।
तर, शनिबार (जेठ १९ गते) रातको १२ बजेबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
तीन महिनामा ९ रुपैयाँले बढेको पेट्रोलको मूल्य ११३ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा ३-३ रुपैयाँले बृद्धि गरेको हो । अन्र्तराष्ट्रिय बजारमा पछिल्लो मूल्य बृद्धिसँगै पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९५ रुपैयाँ कायम भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा १८ करोड ६२ लाख रुपैयाँ घाटा हुने र यदि मूल्य समायोजन नगरेको भए यस्तो घाटा १५ दिनमा ५५ करोड १७ लाख रुपैयाँ हुने आयल निगमले जनाएको छ ।
मुल्य समायोजनपछि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.४९ रुपैयाँ घाटा रहेको बताइएको छ । इण्डियन आयल कर्पोरेसनबाट जुन १ मा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बृद्धि भएर आएकोले मूल्य बढाइएको निगमले भनेको छ । यस अघि जेठ २ गते पेट्रोलको ११० रुपैयाँ र मटितेल र डिजेलको ९२ रुपैयाँ थियो । बैशाख १९ गते पेट्रोलको १०८ रुपैयाँ र मट्टितेल र डिजेलको ९० रुपैयाँ थियो । बैंशाख ३ गते पेट्रोलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर र डिजेल-मट्टितेलको प्रतिलिटर ८७ रुपैयाँ थियो ।यस्तै २०७४ चैत १९ गे पेट्रोलको प्रतिलिटर १०५ रुपैयाँ र डिजेल र मट्टितेलको ८५ रुपैयाँ थियो । ओली सरकार आए लगतै भएको पहिलो मूल्य समायोजनमा भने भाउँ घटेको थियो । जुन फागुन २० गतेको मूल्य समायोजन हो यसमा पेट्रोल प्रतिलिटर १ रुपैयाँले घटेको थियो ।यी मूल्य समायोजनहरु ओली सरकार आएपछिको मूल्य समायोजन हो ।
निगमले प्रत्येक १५-१५ दिनमा पेट्रोल, डिजेल, मट्टितेलको मूल्य समायोजन गर्दै आएको छ । कच्चा तेलको मूल्य र अमेरिकी डलरको सटहीदरमा उतारचढाव आएसँगै पेट्रोलियम पदार्थमा उतारचढाव आउने गर्छ ।
पेट्रोलिय पदार्थको मुल्यबृद्धिले महंगी बढाउने विश्वास गरिन्छ ।लगातारको मूल्यबृद्धिले सरकारको आलोचना शुरु भएको छ ।



















Comments