सरकार नाङ्गो हुन एकदुई बर्ष लाग्छ होला भनेको त पाँच छ महिनामै नाङ्गो भयो : डा.भट्टराई
- Bhumiputra

- Aug 19, 2018
- 3 min read
अश्विन दानी : सरकारको अहिलेको गतिविधिले गर्दा जनताले छिट्टै नयाँ विकल्प खोज्ने पूर्व प्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले दाबी गरे । हरेक महिना गृहजिल्ला गोरखा आउने क्रममा शनिबार गोरखा आइपुगेका भट्टराईले तर आफूले अस्थिरता भने नचाहेको बताए । ‘त्यत्रो लामो संघर्ष गरेर आउनु भएको, १४ बर्ष जेल बसेर आउनु भएका प्रधानमन्त्री, त्यत्रो ठूलो विद्रोहको नेतृत्व गरेर आउनु भएका प्रचण्डजी र मेरै सहकर्मी माओवादी साथीहरु मिसिएको सरकारले जनताको, राष्ट्रको पक्षमा केही काम त गर्छ कि भन्ने मलाई लागेको थियो’, गोरखाका सांसद समेत रहेका नेता भट्टराईले भने, ‘तर उहाँहरुले पटक्कै केही पनि गर्नुभएन । छोटो पाँच छ महिनाको समयभित्र नै उहाँहरुले जनविरोधी, राष्ट्रहित बिरोधी चरित्र देखाउनु भयो । त्यो चाहिँ बडो चिन्ताजनक बिषय छ । त्यसैले जनताले छिट्टै नयाँ बिकल्प खोज्नेतिर जान्छ ।’ दुईतिहाइको दुहाइ मात्र दिएर नभै जनपक्षीय काम पनि गर्नुपर्ने भन्दै उनले जनताले सँधै पर्खिर नबस्ने बताए । ‘चुनावमा उहाँहरुले बाँड्नु भएको घोषणापत्र अनुसारको काम त जनताले खोज्छन् । नपाए पर्खिएर त बसिरहदैनन्’ उनेले भने, ‘तर यो सरकार अस्थिर होओस् भन्ने मैले कत्तिपनि चाहेको भने छैन ।’ भ्रष्टाचारी, कालोबजारी, कमिशनखोरी, तस्करहरुसंगको साँठगाँठ, सिण्डिकेट र कार्टेलिङले सरकार बदनाम भएको उनको भनाइ छ । ‘भ्रष्टाचारी, कालोबजारी, कमिशनखोरी, तस्कर, सिण्डिकेट र कार्टेलिङको नियन्त्रण गर्ने भनेर अलिकति आवाज उठेको त थियो तर पछि आफ्नै आसेपासे मान्छेहरु रहेको पाइयो’, उनले भने, ‘जसले खर्च दिएर नेताहरु पाल्छन्, खर्च दिएर चुनाव जिताउँछन्, तिनको दबाबले गर्दा उहाँहरु पछि हटिराख्नु भएको छ ।’ यस्तो गतिविधिले यो सरकार लामो समयसम्म जान नसक्ने उनको भनाइ छ । ‘कम्युनिष्टहरुमा त सैद्धान्तिक रुपमा पहिल्यैदेखि केन्द्रीयतावादी नै हुन्, तर आफूलाई जति लोकतान्त्रिक भने पनि काङ्ग्रेसमा पनि एउटै नेतामा सबै शक्ति केन्द्रीत भएको पाइयो’, गोरखाका सांसद समेत रहेका भट्टराईले भने, ‘एमाले र माओवादी मिलेर बनेको नेकपा मुखले बहुदलीय प्रतिष्पर्धी भनेपनि सारमा अत्यन्त अलोकतान्त्रिक, नोकरशाही र केन्द्रीयतावादी छन् ।’ नाम नेपाल कम्युनिष्ट पार्टी राखे पनि उनीहरु कम्युनिष्ट नै नभएको उनको आरोप छ । ‘उहाँहरुको त कम्युनिज्म नै होइन, खोल मात्रै कम्युनिज्मको ओढेको हो’ भट्टराईले तर्क गरे, ‘कम्पनीहरुले जुन खोल देखाउँदा सामान धेरै बिक्छ, त्यही खोल प्रयोग गरे झैं, उनीहरुले पनि कम्युनिज्मको खोल बढि बिक्ने भएकाले चुनावी लाभका निम्ति, जनता छल्नका निम्ति कम्युनिष्टको खोल ओढेको हो । सारमा उनीहरु आसेपासे पुँजिवाद, क्रोनिक्यापिलिस्ट नै हुन् ।’ हालैको गोविन्द केसीको अनसनको प्रसंगमा उनले शिक्षा र स्वास्थ्य जनताका लागि निशुल्क हुनुपर्नेमा आसेपासेलाई मात्र भएको भन्दै आलोचना गरे । ‘वर्तमान सरकार नाङ्गो हुन एकदुई बर्ष लाग्छ होला भनेको त पाँच छ महिनामै नाङ्गो भयो’, भट्टराईले भने, ‘हालै स्वास्थ्य, शिक्षालाई लिएर जुन गोविन्द केशी प्रकरण भयो, त्यतिबेला आफूलाई कम्युनिष्ट भन्ने सरकारले जनताको शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्ने दिशातिर जानुपर्नेमा पूरै निजी क्षेत्रलाई त्यसमा पनि आफ्नै आसेपासेलाई दिने भनेर उत्रिए । यसले गर्दा उनीहरुको चरित्र कुनै पनि अर्थमा समाजवादी, साम्यवादी, अग्रगामी देखिएन । यथास्थितिवादी र क्रोनिक्यापिलिष्ट नै हो ।’ विप्लव नेतृत्वको माओवादी नेता कार्यकर्तालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएकोप्रति भट्टराईले आलोचना गरे । ‘राजनीतिक शक्तिलाई राजनीतिक ब्यबहार गर्नुपर्छ’, उनले भने, ‘भलै विप्लवले अपनाएको राजनीतिक सोच, नीति सही होइन । त्यसले मुलुकलाई ठिक दिशातिर लादैन तैपनि उनीहरु राजनीतिक शक्ति हुन् त्यसैले उनीहरुलाई राजनीतिक ढंगल ब्यबहार गरिनुपर्छ । अपराधीलाई झै नेल र हत्कडी लगाउनु बिल्कुल गलत कुरा हो । आफूलाई कम्युनिष्ट भन्ने र त्यत्रो क्रान्ति गरेर आएको पार्टीको सरकारले राजनीतिक पार्टीका नेताहरुलाई सामान्य गिरफ्तारी गर्नुपर्नेमा हत्कडी लगाउनु बिल्कुल गलत हो ।’ वर्तमान सरकारले चुनावी खर्च उठाउन मूल्यवृद्धि गरेको भट्टराईको आरोप छ । ‘माथिका नेता राज्यको दोहन गरेर आफूलाई, पार्टीलाई लाभ लिनेतर्फ उन्मुख भए’, भट्टराईले भने, ‘तिनले पनि आफ्ना पार्टीका माथिका नेताको देखासिकी गरेर भ्रष्टाचार गर्ने, बिलासीका सामान, गाडीहरु खरिद गर्ने काम गरिरहेका छन् । अपारदर्शी हर्कत गरिरहेका छन् ।’





















Comments